नेकपा माओवादीको भगिनी संगठन अनेमसंघ (क्रान्तिकारी) लगायत दर्जनौं संघ/संस्थाको व्यापक विरोधका कारण ‘मिस नेपाल २००८’ स्थगित भए पनि विदेशी डलरको सहयोगमा मिस नेपालका प्रत्याशी युवतीहरू सडकमा निस्किने भएका छन्। पटक–पटकको मिति सारिएको सुन्दरी प्रतियोगिता गत असोज ११ गते पुनः स्थगित गरिएपछि पीडित सुन्दरीहरू सडकमा उत्रिने भएका हुन्।
नेपाली महिलाको क्षमता अभिवृद्धि तथा सशक्तीकरणलगायतका मुद्दामा काम गर्ने भनिएको संयुक्त राष्ट्रसंघीय महिला विकास कोष (युनिफेम)को लगानीमा युवतीहरू सडकमा निस्कन लागेका हुन्। नेपालस्थित युनिफेम कार्यालयको शान्तिका लागि सञ्चार सञ्जालसँग आबद्ध ‘सामाजिक सशक्तीकरणका लागि व्यक्तिगत अधिकार’ नामक गैरसरकारी संस्थाले २० सुन्दरीलाई सडकमा उतार्नेछ।
लामो समयदेखि विरोधका बाबजुद हुँदै आएको प्रतियोगिता स्थगितका लागि यसपटक नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत आयोजक संस्था हिडेन ट्रेजरलाई असोज १० गते सुरक्षाको कारण देखाएर पत्र पठाएको थियो। त्यसो त, विवादलाई चरम रूप दिने र अप्रत्यक्ष रूपमा माओवादी नेतृत्वको सरकारलाई असहयोग गरेको देखाउन प्रधानसेनापति रुक्मांगत कटवालले असोज ११ गतेका लागि ‘आर्मी क्लब’ आयोजकलाई उपलब्ध गराएका थिए। आयोजकले प्रज्ञा–प्रतिष्ठान, सभागृह, याक एन्ड यती होटल, ह्यात रिजेन्सी होटललगायतका स्थानमा हल भाडामा नपाएपछि प्रधानसेनापति कटवालले ‘आर्मी क्लब’ उपलब्ध गराएका हुन्। उपभोक्तावादी संस्कृतिको नांगो पक्षपोषण गरिएको भन्दै विरोध गर्ने अनेमसंघ (क्रान्तिकारी) बाट मोबाइलमा एसएमएस तथा फोनबाट धम्की आएको भन्दै प्रतियोगी युवतीले गत असोज ९ गते त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरेर विरोध आन्दोलन सुरु गरेका छन्। युनिफेमको आर्थिक सहयोगमा आरम्भ भएको त्यस विरोध कार्यक्रमलगत्तै असोज ११ गते पुनः सानेपास्थित क्लब इन्टरनेसनलमा आमाबाबुसमेत लिएर सुन्दरीले पत्रकार सम्मेलन गरेका छन्।
सुन्दरी प्रतियोगिताको प्रायोजक डाबर नेपालले मात्रै बर्सेनि प्रतियोगिताका लागि करिब दुई करोड रूपैयाँ खर्चिने गर्दछ। स्मरण रहोस्, अहिले त्यस कम्पनीका मजदुर कम्पनीको मुनाफा अनुसार बोनस नपाएको भन्दै आन्दोलनरत छन्। यता, महिलाका नाममा करोडौं रकम भित्र्याउँदै आएको युनिफेमले समेत सुन्दरीको पिछा लागेर करोडौं रकम उपलब्धिविहीन काममा खर्चिन लागेपछि उसको भूमिकामा समेत प्रश्न उठ्न थालेको छ। संयुक्त राष्ट्रसंघबाट प्राप्त हुने करोडौं बजेट कहाँ, कसरी खर्च गरियो भन्नेबारे स्पष्ट जवाफ दिन नसक्ने युनिफेमले सुन्दरीहरूलाई सडकमा उतार्नका लागि मात्रै करिब दुई करोड रूपैयाँ खर्चिने योजनामा रहेको युनिफेम निकट स्रोतले बताएको छ। यता, २० प्रत्याशी सुन्दरीमध्येकी जेनिशा मोक्तानको भने बजारमा ‘नीलो फिल्म’ प्रसारण भएको हल्ला छ। हाल मोबाइलमा उक्त फिल्म राख्न थालिएको चर्चा छ। तर मोक्तानले भने आफ्नो अनुहारमा अरूले बद्मासी गरेको स्पष्टीकरण दिँदै हिँडेकी छन्।
Source: weeklynepal.com

